कुशल भूर्तेलको धमाकेदार प्रदर्शन: यूएईमाथि नेपालको शानदार जित



काठमाडौँ, वैशाख ९ — संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपालले उत्कृष्ट जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा यूएईले नेपाललाई जितका लागि १२९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १५.५ ओभरमै २ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्‍यो।

नेपालको जितमा कुशल भूर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको शानदार इनिङ्स खेले। कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमै आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।
यूएईका नीलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन तथा मुहम्मद अरफानले ३२ रनको योगदान दिए।

नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए।

दुई खेलको उक्त शृङ्खलामा दुवै टोलीले एक–एक खेल जित्दै बराबरी गरेका छन्। यसअघि पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्