फोहोर जलाउँदा बस्तीमा आगलागी, १२ घर जलेर खरानी



पश्चिम नवलपरासी, वैशाख ९ – प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो आगलागी हुँदा १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय गोविन्द चमारको घरबाट सुरु भएको आगो हावाका कारण फैलिँदा विपन्न बस्तीका घरहरूमा क्षति पुगेको हो।

आगलागीमा मानवीय क्षति नभए पनि तीन वटा बाख्रा जलेर मरेका छन् भने एउटा घाइते भएको छ। घर, अन्नपात र लत्ताकपडासहित करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घर वरिपरि जम्मा गरिएको फोहोर जलाउँदा आगो राम्रोसँग ननिभाइएकाले दुर्घटना भएको हो। घटनामा गोविन्द चमारसहित अन्य ११ जनाका कच्ची घर जलेर नष्ट भएका छन् भने एक जनाको पक्की घरमा समेत क्षति पुगेको छ।

दमकल समयमै नपुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। रामग्रामबाट गएको दमकल बाटोमै बिग्रिएपछि ढिलाइ भएको थियो। अन्ततः प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्