वैदेशिक रोजगार विभागमा बिचौलिया सक्रिय, नुवाकोटका एकसहित तीन पक्राउ
काठमाडौँ, वैशाख ९ – ताहचलस्थित वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले विभाग परिसरमै अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मोरङका किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोकका विजय लामा र नुवाकोटका सागर लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
यसैबीच, काठमाडौँ प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेकामध्ये २१ पुरुष र पाँच महिला रहेका छन्। उनीहरूलाई विभिन्न अदालतले कुल चार वर्ष १० महिना ११ दिन कैद तथा करिब १२ लाख ९१ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

