नेपाल ‘ए’ लाई २८१ रनको लक्ष्य



काठमाडौँ, बैशाख ९ — नेपाल ‘ए’ टिमले ओमानसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा २८१ रनको लक्ष्य पाएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८० रन बनाएको हो। ओमानका ओपनर जतिन्दर सिंह र आशिष ओडेराले ७९ रनको साझेदारी गर्दै टोलीलाई सशक्त सुरुआत दिलाएका थिए।

नेपालका लागि सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दै ५८ रनमा जतिन्दरलाई आउट गर्दै ओपनिङ साझेदारी तोडेका थिए। जतिन्दरले ४८ बलमा १० चौकासहित ५८ रन बनाए। सन्तोषले नै २७ रन बनाएका आशिषलाई पनि आउट गरेका थिए।

ओमानका चौथो नम्बरका ब्याट्सम्यान मुजिबुर अलीले ८५ बलमा ७ चौकासहित ७२ रनको महत्वपूर्ण इनिङ्स खेले। यस्तै हसिर डफेडरले ४१ बलमा ४६ रन बनाउँदै मुजिबुरसँग ९१ रनको साझेदारी गरेका थिए, जसले ओमानलाई मजबुत अवस्थामा पुर्‍यायो।

अन्तिमतिर विनायक शुक्लाले २५ रनको योगदान दिए। नेपालका लागि आकाश चन्दले ९ ओभरमा ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने सन्तोषले २ विकेट लिए।

हाल नेपाल ‘ए’ टोली लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्