गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा घोषणा
काठमाडौँ, बैशाख ९ — गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री बालेन शाह सँग छलफल गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्।
गुरुङले पदभन्दा नैतिकता ठूलो हुने उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो शेयर सम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले वक्तव्यमा उल्लेख गरेका छन्।
अपारदर्शी सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको साझेदारीको विषय सार्वजनिक भएपछि उनीमाथि चौतर्फी आलोचना भइरहेको थियो। विशेषगरी बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्बन्धित कम्पनीमा शेयर रहेको तथ्य बाहिरिएपछि उनको आलोचना चुलिएको हो।
नयाँ सरकार गठनसँगै गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरुङले आफ्नो पदमा रहँदा निष्पक्ष छानबिन प्रभावित हुन नदिन र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।
उनले सार्वजनिक सन्देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याउँदै नागरिक, सञ्चारकर्मी तथा युवालाई सत्य र इमानदारीको बाटोमा अघि बढ्न आह्वान समेत गरेका छन्।

