इन्धन संकटबीच पनि पढाइ नरोकिने : उपत्यकामा वैशाख ११ देखि भर्ना, १५ देखि कक्षा सञ्चालन



काठमाडौँ,बैशाख ९  । काठमाडौँ उपत्यका मेयर्स फोरमले नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान र पठनपाठन सञ्चालनबारे एकीकृत आग्रह गरेको छ।

फोरमले वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न तथा वैशाख १५ गतेदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न उपत्यकाभित्रका सबै स्थानीय तहलाई अनुरोध गरेको हो।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै विद्यार्थीको सिकाइ उपलब्धिमा असर नपर्ने गरी शैक्षिक सत्र सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

बैठकले हाल देखिएको इन्धन संकटलाई ध्यानमा राख्दै पठनपाठन अवरुद्ध हुन नदिन विद्यालयहरूलाई अनलाइन कक्षा लगायत वैकल्पिक उपायको तयारी अवस्थामा रहन पनि आग्रह गरेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो।

यसअघि संघीय सरकारले भने वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्