मालावती काफ्लेलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’
काठमाडौँ, वैशाख ९ : उदयपुरकी नारी स्रष्टा मालावती काफ्लेलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरिएको छ। नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको उक्त सम्मान बुधबार काठमाडौँमा आयोजित समारोहमा काफ्लेलाई प्रदान गरिएको हो।कार्यक्रममा प्रमुख अतिथि कथाकार तथा साहित्यकार भागिरथी श्रेष्ठ, पुरस्कार संस्थापकका तर्फबाट इन्द्रकुमारी खनाल, समाजका पूर्वअध्यक्ष विधान आचार्य तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले काफ्लेलाई सम्मान अर्पण गर्नुभएको थियो।
ओझेलमा परेका नारी स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको यस सम्मानसँग २० हजार १११ रुपैयाँ नगद राशिसमेत रहेको छ। सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आएकी काफ्ले झ्याउरे गीत सिर्जनामा सक्रिय रहँदै संगिनीमार्फत सामाजिक रूपान्तरणको सन्देश दिँदै आउनुभएको छ।
सम्मान ग्रहणपछि मन्तव्य राख्दै काफ्लेले महिलाहरू शिक्षित र सशक्त बन्नुपर्नेमा जोड दिँदै आफूले पनि विगतदेखि समाजसेवामा निरन्तर सक्रिय रहेको बताउनुभयो। विगत ३०–३२ वर्षमा महिलाको अवस्थामा उल्लेख्य सुधार आएको उल्लेख गर्दै उहाँले अझै पनि जागरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा साहित्यकार विधान आचार्यले काफ्लेको योगदानबारे प्रकाश पार्दै नारी सशक्तीकरणका लागि उहाँको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। त्यस्तै, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले उपयुक्त स्रष्टालाई छनोट गरिएको भन्दै बधाई व्यक्त गर्नुभयो।
समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनालले २०७५ सालमा आफ्नी आमा दमन्ता खनालको स्मृतिमा यो सम्मान स्थापना गर्नुभएको हो। स्वर्गीय आमाको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ।
कार्यक्रममा पुष्पा खनालको रचना ‘पिरतीको गीत’ गजलको लिरिकल भिडियोसमेत सार्वजनिक गरिएको थियो। गजल गायिका गंगा सोनामले सोही गजलको एक अंश प्रस्तुत गर्नुभएको थियो भने संगीत नरेन्द्र प्यासीले दिनुभएको हो।
कार्यक्रमको समापन गर्दै समाजका महासचिव प्रकाश घायलले काफ्लेलाई छनोट गर्न पाउँदा समाज स्वयं सम्मानित भएको बताउनुभयो।
२०७५ सालदेखि सुरु गरिएको यस सम्मानबाट हालसम्म सिर्जना शर्मा, इन्द्रा गहतराज, डिक्रा वादी, प्रतिमा पोख्रेल, निर्मला मुरारी, लता गिरी, यमुना पराजुली, लक्ष्मी तिवारी र यस वर्ष मालावती काफ्ले सम्मानित भइसकेका छन्।

