स्मार्ट विद्यालयतर्फ नुवाकोट लिखुको पाइला : विद्यार्थीलाई सिकाइ, अनुशासन र उत्साहको अभ्यास



नुवाकोट,बैशाख ९ — शैक्षिक सुधारको नयाँ बाटो खोज्दै नुवाकोटको लिखु गाउँपालिका यतिबेला ‘स्मार्ट विद्यालय’ अवधारणालाई व्यवहारमा उतार्ने अभियानमा जुटेको छ। शैक्षिक सत्र २०८३ को सुरुवातसँगै गाउँपालिकाले आयोजना गरेको स्मार्ट विद्यालय निर्माण तालिम को पहिलो दिन बुधबार उत्साहपूर्ण सहभागितासहित सम्पन्न भयो।

चौघडाको तातो हावासँगै सुरु भएपनि कार्यक्रमले केवल तालिम मात्र होइन, विद्यालयको समग्र रूपान्तरणतर्फ संकेत गरेको देखिन्थ्यो। गाउँपालिकाभरिका विद्यालयबाट आएका शिक्षक, प्रधानाध्यापक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति कार्यक्रमको ऊर्जा झल्काउने प्रमुख आधार बन्यो।

तालिमका प्रशिक्षक छेदुङ लामा कक्षाभित्र मात्र सीमित नहुने सिकाइको अभ्यासमा जोड दिँदै देखिन्थे। योगा, कसरत र विभिन्न विषयगत अभ्यासमार्फत विद्यार्थीको शारीरिक र मानसिक विकासलाई सँगै अघि बढाउने प्रयास गरिएको छ। सहभागीहरूका अनुसार यस्तो अभ्यासले विद्यालयलाई केवल पढाइको केन्द्र होइन, समग्र व्यक्तित्व विकासको थलो बनाउने विश्वास जगाएको छ।

उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले स्मार्ट विद्यालय समयको आवश्यकता भएको उल्लेख गर्दै प्रविधिमैत्री र अनुशासित शिक्षा प्रणाली विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए। शिक्षा शाखा प्रमुख शेरसिंह रावतले तालिमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यालयस्तरमै परिवर्तन देखिने अपेक्षा व्यक्त गरे।

कार्यक्रमको पहिलो दिनले नै सिकाइप्रतिको नयाँ ऊर्जा सिर्जना गरेको सहभागीहरूको अनुभव छ। अब भोलि (वैशाख १० गते) बिहान ७:३० बजेबाट क्षेत्रपाल माध्यमिक विद्यालयमा थप विद्यार्थीसहित उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ।

लिखु गाउँपालिकाको यो पहलले ग्रामीण शिक्षामा नयाँ अभ्यास र दृष्टिकोण भित्र्याउने संकेत दिएको छ—जहाँ किताबसँगै व्यवहार, अनुशासन र प्रविधि पनि सिकाइको अभिन्न हिस्सा बन्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्