नागढुङ्गा–मुग्लीन सडकका लागि खानी सामग्री उत्खनन खुला, निर्माणले गति लिने अपेक्षा



काठमाडौं,बैशाख १०। निर्माणाधीन नागढुङ्गा–मुग्लीन सडक खण्डका लागि आवश्यक खानी तथा नदीजन्य सामग्री संकलन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ। लामो समयदेखि स्थानीयको विरोधका कारण रोकिएको उत्खनन कार्य सर्वपक्षीय सहमतिपछि पुनः सुचारु हुने भएको हो।

अव्यवस्थित उत्खननका कारण पानीका मुहान सुक्ने, धार्मिक तथा सार्वजनिक संरचनामा असर पर्ने भन्दै मलेखु क्षेत्रका स्थानीयले पटक–पटक गुनासो गर्दै आएका थिए। यसअघि स्थानीय र निर्माण कम्पनीबीच सहमति नजुट्दा त्रिशूली नदीसहित आसपासका खोलानाला र खानीबाट सामग्री संकलनमा रोक लगाइएको थियो।

हाल सडक निर्माण कम्पनी, स्थानीय तह, प्रशासन र सरोकारवालाबीच छलफलपछि मात्र सामग्री निकाल्न दिने सहमति भएको हो। बुधबार भएको सर्वपक्षीय निर्णयअनुसार अब तोकिएको मापदण्डभित्र रहेर व्यवस्थित रूपमा ढुंगा, बालुवा र गिट्टी संकलन गरिनेछ।

निर्माण सामग्री अभावकै कारण सडक स्तरोन्नति कार्य प्रभावित भई काम लगभग ठप्पजस्तै बनेको थियो। कालोपत्रेका लागि आवश्यक बेस तयार गर्न समेत कठिनाइ भएको अवस्थामा अब स्थानीयस्तरमै सामग्री उपलब्ध भएपछि निर्माणले गति लिने अपेक्षा गरिएको छ।

विशेषगरी वर्षायाम नजिकिँदै गर्दा सवारी आवागमन थप प्रभावित हुने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पहल गरेको हो। सहमतिअनुसार अब खोलानाला र खानीबाट सामग्री संकलन गर्दा स्थानीयको निगरानीमा तोकिएको स्थान र परिमाणअनुसार मात्र उत्खनन गरिनेछ।सार्वजनिक स्थल, धार्मिक सम्पदा तथा पुलपुलेसामा क्षति नपुग्ने गरी त्रिशूली नदीलगायतका क्षेत्रबाट सामग्री निकाल्न अनुमति दिइएको छ।

साथै, वातावरणीय प्रभाव मूल्यांकन (EIA) र प्रारम्भिक वातावरणीय परीक्षण (IEE) भएका स्थानमा मापदण्ड पालना गर्न धादिङ प्रशासनले निर्देशन दिएको छ। नियम उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

आयोजनाका अनुसार सडक कालोपत्रेका लागि अझै करिब ६ लाख घनमिटर खानी तथा नदीजन्य सामग्री आवश्यक पर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्