प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पूर्ववत् प्रयोगमै रहने
काठमाडौँ, बैशाख १० — सरकारले काठमाडौँको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने पूर्वनिर्णय उल्टाउँदै सो जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले सो जग्गा राष्ट्रपतिको कार्यालयका नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।
सरकारले उक्त निर्णय उल्टाउँदै प्रहरी प्रशिक्षण प्रयोजनका लागि आवश्यक संरचना र पूर्वाधार संरक्षणलाई प्राथमिकता दिएको जनाएको छ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय १५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीको अवस्था अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो।

