मन्त्रिपरिषद्का निर्णय: खानेपानी परियोजनाका लागि ११५ मिलियन डलर ऋण सम्झौता अघि बढाइने



काठमाडौं, वैशाख १० — सरकारले एसियाली विकास बैंक (ADB) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। प्राप्त हुने ऋण रकम एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च गरिने सरकारको योजना छ।

बैठकले यसअघि २०७५ भदौ १ गतेको निर्णय अनुसार महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णयलाई उल्टाउँदै उक्त जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने व्यवस्था गरेको छ।

यस्तै, सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्