नेपाली कांग्रेस संसदीय दलको नेता चयन भोलि, मतदान अपराह्न ४ देखि ५ बजेसम्म



काठमाडौं,बैशाख १० — नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि मतदान हुने भएको छ। निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ।

निर्धारित कार्यक्रमअनुसार भोलि अपराह्न ३ बजे उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ भने अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदान हुने समय तय गरिएको छ।

संसदीय दलको नेताका लागि पूर्व सहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य आकांक्षी देखिएका छन्।यद्यपि, केसीले सहमति नभए आफू निर्वाचनमा सहभागी नहुने संकेत दिएका छन्। उनले नेताको चयनका लागि स्पष्ट मापदण्ड बनाइनुपर्ने वा सहमतिमै उम्मेदवार टुंगो लगाइनुपर्ने धारणा व्यक्त गरेका छन्। “यदि निर्वाचन नै हुने भयो भने म प्रतिस्पर्धामा जान्नँ,” उनको भनाइ छ।

यसैबीच, आज बसेको कांग्रेस सांसदहरूको बैठकले संसदीय दलसम्बन्धी विधान पारित गरेको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सांसदहरूको छलफलपछि विधान अनुमोदनका लागि पार्टीमा पठाइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्