वायु प्रदूषण उच्च: देशभर धुवाँ र धुलोको असर, स्वास्थ्यमा जोखिम



काठमाडौँ, वैशाख ११ — नेपालको अधिकांश भू–भाग यतिबेला धुवाँ र धुलोजन्य वायु प्रदूषणको चपेटामा परेको छ। पछिल्ला केही दिनदेखि बढेको सुक्खा तातोपन र तीव्र डढेलोका कारण वायुमण्डलमा प्रदूषणको मात्रा उच्च बनेको हो।

वातावरण विभागका अनुसार वायुमण्डलमा आँखाले देख्न नसकिने पिएम–२.५ भन्दा पनि मसिना कणको मात्रा बढ्दै गएको छ, जसले प्रदूषणलाई अझ खतरनाक बनाएको छ। विभागले केही दिनअघिदेखि नै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।

मौसमी प्रतिकूलता, वर्षाको अभाव र बढ्दो तापक्रमका कारण देशका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको विभागले जनाएको छ।काठमाडौँ, पोखरा, भैरहवा, विराटनगर र चितवनलगायतका सहर मात्र नभई हिमाली क्षेत्रसम्म यसको प्रभाव देखिएको छ।

राजधानी काठमाडौँसहित ठूला सहर र तराई क्षेत्रमा बिहान–साँझ मात्र नभई दिउँसो पनि प्रदूषणको स्तर उच्च रहेको सर्वसाधारणले महसुस गरेका छन्। काठमाडौँको नागढुङ्गा–धादिङ क्षेत्रमा त दृश्यता घटेर सडक र पहाडी बस्तीसमेत नदेखिने अवस्था बनेको छ।

डढेलोविज्ञ सुन्दर शर्माका अनुसार धुवाँ र धुलोका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेको छ। “घाम नै नदेखिने गरी वातावरण धुम्मिएको छ, डढेलो प्रभावित क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ,” उहाँले भन्नुभयो। उच्च हिमाली भेगसम्मै डढेलोबाट उत्पन्न धुवाँ, खरानी र कालो कार्बन फैलिएको पनि उहाँले जानकारी दिनुभयो।बिहीबार अपराह्नसम्म देशका २५३ भन्दा बढी स्थानमा डढेलो लागेको तथ्यांक छ। विशेषगरी पश्चिम नेपाल र तराई क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ। साथै छिमेकी भारतमा कृषिजन्य अवशेष जलाउने समय भएकाले त्यहाँबाट आउने प्रदूषणले समेत अवस्था झनै बिगारेको अनुमान गरिएको छ।

वायुमण्डलमा धुवाँ र धुलो बाक्लिँदा सवारी साधन, उद्योग र फोहोर जलाउँदा निस्किने प्रदूषण तल्लो तहमा थुप्रिने गरेको विभागले जनाएको छ। विभागको अनुगमन प्रणालीअनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा वायु गुणस्तर सूचक (AQI) १९६ पुगेको छ, जुन अस्वस्थकर स्तर हो।

यसैगरी रत्नपार्कमा १८५, धुलिखेल र दाङमा १८४, भैँसेपाटीमा १८०, खुमलटारमा १७७, शङ्खपार्कमा १७४ र लुम्बिनीमा १७१ AQI मापन गरिएको छ। हिमाली जिल्लाहरू अछाम (१६६), मुस्ताङ (१६१) र जोमसोम (१५४) मा समेत अस्वस्थकर वायु गुणस्तर देखिएको छ।

वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोगीलाई बढी असर पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। विभागले प्रदूषण बढी भएको समयमा बाहिर निस्कँदा मास्क प्रयोग गर्न र अनावश्यक बाहिरी गतिविधि कम गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्