नुवाकोट शिवपुरीमा आइतबार पनि विद्यालय खुल्ने, वैशाख १५ बाटै पढाइ सुरु



नुवाकोट, वैशाख ११ । नुवाकोटको शिवपुरी गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्नासँगै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। विद्यालय सञ्चालनलाई व्यवस्थित बनाउँदै पठनपाठनको समय पर्याप्त बनाउन गाउँपालिकाले आइतबारसमेत कक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनुभयो ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने तथा चैत २३ गतेदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियोे। तर उक्त व्यवस्थाले विद्यालयको पढाइ अवधि घट्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकबीच अन्योलता बढ्ने देखिएपछि शिवपुरी गाउँपालिकाले स्थानीय तहबाटै वैकल्पिक निर्णय लिएको हो।

गाउँपालिकाका अध्यक्ष थपलियाका अनुसार, केन्द्र सरकारबाट समयसापेक्ष र कार्यान्वयनयोग्य स्पष्ट योजना नआएको अवस्थामा स्थानीय आवश्यकता र शैक्षिक हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। वैशाख ११ गते बसेको गाउँ शिक्षा समिति बैठकले भर्नासँगै नियमित कक्षा सञ्चालन गर्ने र आइतबारसमेत विद्यालय खुला राख्ने निष्कर्ष निकालेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई परिपत्र जारी गर्दै भर्ना प्रक्रिया तत्काल सुरु गर्न र तोकिएको मितिदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। परिपत्रमा विद्यार्थीको सिकाइमा असर नपरोस् भन्ने उद्देश्यले आइतबारसमेत विद्यालय सञ्चालन गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ।

गाउँपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई अन्योलमा नपर्न आग्रह गर्दै नयाँ शैक्षिक सत्र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्