विद्यार्थी छुट नदिने यातायात व्यवसायीको घोषणा



काठमाडौं,बैशाख १२। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले अबदेखि सार्वजनिक यातायातमा विद्यार्थीलाई दिँदै आएको भाडा छुट नदिने घोषणा गरेको छ।

महासंघले यातायात व्यवस्था विभाग ले विद्यार्थी छुट उपलब्ध गराउन पठाएको पत्रको औपचारिक प्रत्युत्तर दिँदै राज्यबाट प्राप्त सहुलियत पुनःस्थापना नभएसम्म कुनै पनि हालतमा छुट कार्यान्वयन नगर्ने अडान लिएको जनाएको छ।

महासंघका अनुसार सरकारले २०६५ सालको निर्णयलाई आधार बनाएर व्यवसायीमाथि दबाब सिर्जना गरेको भन्दै उक्त नीतिको कडा भर्त्सना गरिएको छ। विगतमा ४५ प्रतिशत विद्यार्थी छुट दिएबापत व्यवसायीहरूले वार्षिक कर, रुट परमिट तथा जाँचपासमा ६० प्रतिशतसम्म छुट पाउने सहमति रहेको थियो। तर संघीयता कार्यान्वयनसँगै २०७३ सालदेखि उक्त सहुलियत हटाइएको महासंघको दाबी छ।

महासंघले एकातर्फ प्रदेश सरकारहरूले मनोमानी ढंगले कर असुल्ने र अर्कोतर्फ संघीय सरकारले पुरानो सहुलियत हटाउने काम गरेको आरोप लगाउँदै यस्तो अवस्थामा राहतबिना सेवा दिन नसकिने स्पष्ट पारेको छ।महासचिव डेकनाथ गौतम ले हस्ताक्षर गरेको पत्रमा कोशी प्रदेशबाहेक अन्यत्र व्यवसायीले कुनै पनि प्रकारको सहुलियत नपाएको उल्लेख गरिएको छ।

“राज्यले हाम्रो अधिकार खोसेर हामीलाई आर्थिक रूपमा कमजोर बनाउने अनि हामीले भने विद्यार्थीलाई छुट दिनुपर्ने ?” भन्दै व्यवसायीहरूले प्रश्न उठाएका छन्।

महासंघले संघीय तथा प्रदेश सरकारले ६० प्रतिशत कर छुटको व्यवस्था कानूनी रूपमा पुनः लागू नगरेसम्म विद्यार्थी छुटसम्बन्धी कुनै निर्देशन पालना नगर्ने अन्तिम निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्