एसइई नतिजा वैशाखमै: बोर्डको लक्ष्य एक महिनाभित्र प्रकाशन
काठमाडौं, वैशाख १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । विगतमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा प्रकाशन गर्दै आएको बोर्डले यस वर्ष भने प्रक्रिया तीव्र पार्दै एक महिनाभित्रै नतिजा ल्याउने लक्ष्य लिएको हो ।
बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार उत्तरपुस्तिका परीक्षण सकिन लागेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम तीव्र गतिमा भइरहेको छ । उनले काम यही गतिमा अघि बढे तेस्रो साताको अन्त्यतिरै नतिजा सार्वजनिक हुन सक्ने बताए ।
प्राप्ताङ्क प्रविष्टिपछि एक चरण रुजु प्रक्रिया गरिनेछ । त्यस क्रममा कुनै प्राविधिक समस्या नदेखिएमा नतिजा प्रकाशनको अन्तिम चरणमा प्रवेश गरिने बोर्डले जनाएको छ । एसइई परीक्षा गत चैत २९ गते सम्पन्न भएको थियो ।
अर्यालले परीक्षा सकिएको मितिले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य अनुसार काम भइरहेको जानकारी दिँदै वैशाख २९ गतेभित्रै नतिजा ल्याउने तयारी रहेको बताए । हालसम्मको प्रगति लक्ष्यअनुसार नै रहेको उनको भनाइ छ ।
नयाँ सरकार गठनपछि नतिजा १५ दिनमै सार्वजनिक गर्ने विषयमा समेत छलफल भएको थियो । तर हतार गर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले बढीमा एक महिनाभित्र नतिजा ल्याउने सहमति मन्त्रालय र बोर्डबीच भएको थियो ।
यस वर्ष नतिजा प्रकाशन छिटो बनाउन उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने पर्याप्त जनशक्ति परिचालन गरिएको बोर्डले जनाएको छ ।
चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र रहेका छन् । परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएका थिए ।
जापानमा नेपाली भाषा पढाइ हुने विद्यालयका लागि समेत एक परीक्षा केन्द्र राखिएको थियो, जहाँबाट २३ जना विद्यार्थी सहभागी भएका छन् ।

