पाँच दिनको अभ्यासपछि ‘स्मार्ट विद्यालय’तर्फ नुवाकोट लिखुको शैक्षिक रूपान्तरण यात्रा
नुवाकोट,बैशाख १३— बिहान ७:३० बज्दै गर्दा क्षेत्रपाल माध्यमिक विद्यालयको प्राङ्गणमा नियमित रूपमा जम्मा हुने शिक्षक र विद्यार्थीहरूको भीड अब बिस्तारै एउटा अनुशासित अभ्यासमा परिणत भएको छ । पाँच दिनसम्म लगातार सञ्चालन भएको स्मार्ट विद्यालय निर्माण तालिमले लिखु गाउँपालिकाको शैक्षिक वातावरणमै नयाँ ऊर्जा थपेको हो ।
शैक्षिक सत्र २०८३ को पहिलो कार्यक्रमका रूपमा सञ्चालन गरिएको उक्त तालिम वैशाख ९ देखि १३ गतेसम्म सञ्चालन रह्यो। सुरुवातमा उत्सुकतामै सीमित देखिएको तालीममा सहभागिको दिनप्रतिदिन बढ्दै जानु कार्यक्रमको प्रभावकारिताको संकेत मानिएको छ।
गाउँपालिकाभित्रका सामुदायिक तथा निजि सबै विद्यालयबाट शिक्षक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियोे, जसले यो अभियानलाई सामूहिक सिकाइको अभ्यासमा रूपान्तरण गर्न सफल भएको छ।
तालिमका मुख्य प्रशिक्षक छेदुक लामाले सिकाइलाई व्यवहारसँग जोड्ने शैली अपनाउनुभयो। बिहानको सुरुवात योगा र कसरतबाट गर्दै सहभागीहरूलाई शारीरिक स्फूर्ति र मानसिक एकाग्रताको अभ्यास गराइन्थ्यो भने त्यसपछि विभिन्न विषयगत क्रियाकलापमार्फत कक्षाकोठा बाहिरको सिकाइलाई जोड दिइएको थियोे। सहभागीहरूले यसलाई ‘पुस्तकभन्दा बाहिरको शिक्षाको अनुभव’का रूपमा लिएका छन्।
कार्यक्रममा शिक्षा शाखा प्रमुख शेरसिंह रावत, बबिन श्रेष्ठ र सुमित चौधरीले सहजीकरण गर्दै तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। उनीहरूको सक्रिय उपस्थितिले प्रशिक्षणलाई केवल सैद्धान्तिक नभई व्यवहारिक बनाएको सहभागीहरूले बताएका छन् ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले तालिमले लिखुको समग्र शैक्षिक गतिविधिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । “अब सिकाइलाई विद्यालयमै सीमित नराखी जीवनशैलीसँग जोड्ने समय आएको छ,” उहाँले भन्नुभयो ।
त्यसैगरी लिखु गाउँपालिकाका शिक्षा शाखा प्रमुख रावतले तालिममा सिकिएका प्रत्येक अभ्यासलाई विद्यालयसम्म पुर्याउन र निरन्तरता दिन जोड दिए। उनका अनुसार, तालिमको वास्तविक सफलता त्यसको कार्यान्वयनमा निर्भर रहनेछ।
पाँच दिनको यो अभ्यासले लिखु गाउँपालिकामा शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहार, अनुशासन र समग्र विकाससँग जोडिने संकेत दिएको छ। अब चुनौती भनेको यही ऊर्जा र अभ्यासलाई दीर्घकालीन रूपमा विद्यालयहरूमा जोगाइराख्नु हो—जहाँ ‘स्मार्ट विद्यालय’ केवल अवधारणा नभई दैनिक अभ्यास बन्न सकोस्।

