दशरथ रंगशालामा सुकुम्बासीका लागि स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श पनि सुरु
काठमाडौँ, वैशाख १४ । अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
महानगरका अनुसार हालसम्म कम रक्तचाप भएका ४ पुरुष र २ महिला गरी ६ जनालाई उपचार गरिएको छ । त्यस्तै ढाड तथा जोर्नी दुखाइ भएका २ पुरुष, टाउको दुखाइ भएका १८ पुरुष र ६ महिला, २ गर्भवती महिला, काटेर चोटपटक लागेका १ जना तथा अन्य विभिन्न समस्या भएका १२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ ।
शारीरिक उपचारसँगै मनोसामाजिक परामर्श सेवासमेत सञ्चालनमा ल्याइएको छ । परामर्श लिन आउनेमा वहुविवाहको समस्या भोगिरहेका व्यक्ति, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीमा रहेका अभिभावकहरू रहेका छन् । पारिवारिक अवस्था, रोजगारीको अनिश्चितता र बालबालिकाको शिक्षालाई निरन्तरता दिने विषयमा उनीहरूमा चिन्ता देखिएको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिनुभयो ।
यसैबीच, सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूको हेरचाहमा विभिन्न संस्थाहरू सक्रिय भएका छन् । स्नेहा केयर, क्याटलगायतका संस्थाले जनावरलाई खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी जनावरहरूको उपचार गर्ने कार्य गरिरहेका छन् ।
त्यसैगरी घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि निरन्तर जारी रहेको जनाइएको छ ।

