सुकुमवासी बस्ती हटाउँदा विद्यार्थी नछुटून्: सरकारको ६ बुँदे सर्कुलर जारी
काठमाडौं, वैशाख १४ — सरकारले सुकुमवासी बस्ती भत्काइँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा, अध्ययन निरन्तरता र परीक्षा व्यवस्थापन सुनिश्चित गर्न ६ बुँदे सर्कुलर जारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशनपछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीहरू प्रभावित नहोऊन् भन्ने उद्देश्यले विभिन्न निर्देशनहरू जारी गरेको हो।
सर्कुलरमा सुकुमवासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरिएको छ। विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म सहज पहुँच सुनिश्चित गर्न र आवश्यक परे वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
त्यस्तै, बस्ती स्थानान्तरणका कारण विद्यालय नै प्रभावित भएको अवस्थामा वैकल्पिक शैक्षिक व्यवस्था गर्न पनि केन्द्रले जोड दिएको छ। विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित कुनै पनि गुनासो, समस्या वा सुझाव भएमा सम्बन्धित निकायमार्फत केन्द्रमा पठाउन स्थानीय तहहरूलाई आग्रह गरिएको छ।
सरकारको यस कदमले सुकुमवासी बस्तीका विद्यार्थीहरूको शिक्षा अधिकार सुरक्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


