शनिबार–आइतबार बिदा कार्यान्वयन गर्न धादिङका विद्यालयलाई निर्देशन
धादिङ, वैशाख १४ । शिक्षा विकास तथा समन्वय इकाई धादिङले शनिबार र आइतबार सार्वजनिक बिदा सम्बन्धी निर्णय स्पष्ट रूपमा कार्यान्वयन गर्न मातहतका विद्यालय, शिक्षक तथा विद्यार्थीलाई अनुरोध गरेको छ।
इकाईले सोमबार जारी गरेको सूचनामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको पत्र तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरिएको छ। तर उक्त निर्णय कार्यान्वयन नभएको भन्ने गुनासो प्राप्त भएपछि सबै सरोकारवालालाई यसबारे स्पष्ट पारिएको जनाइएको छ।
सूचनाअनुसार २०८३ सालको शैक्षिक सत्र तथा भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु हुनेछ भने नियमित पठनपाठन वैशाख २१ गतेबाट सञ्चालन हुने तय गरिएको छ।
इकाईले सरकारी निर्णयअनुसार बिदा कार्यान्वयन गर्न र शैक्षिक गतिविधि सोहीअनुसार सञ्चालन गर्न सबै विद्यालयलाई आग्रह गरेको छ।


