किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नहट्ने, नयाँ सम्झौताको तयारी
काठमाडौं, बैशाख १४ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली नगरिने स्पष्ट पार्नुभएको छ।
सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले क्रिकेट मैदान हटाउने सरकारको कुनै उद्देश्य नभएको प्रष्ट पार्नुभयो।
उहाँका अनुसार मैदान खाली गर्ने विषयमा त्रिभुवन विश्वविद्यालय ले सूचना जारी गरेपछि उपकुलपतिसँग छलफल गरी वास्तविकता बुझिएको हो। “मैदान खाली गराउने कुनै योजना छैन, भाडा सम्झौता सकिएको कारण त्यसलाई नयाँ ढङ्गले नवीकरण गर्ने तयारी भइरहेको छ,” मन्त्री पोखरेलले भन्नुभयो।
त्रिभुवन विश्वविद्यालयले अतिक्रमित जग्गा खाली गराउने निर्णयसँगै क्रिकेट मैदानबारे पनि पत्राचार गरेको थियो। यसले खेलप्रेमी र सरोकारवालामा अन्योल सिर्जना गरेको थियो।
कीर्तिपुरस्थित उक्त अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना हुँदै आएको प्रमुख पूर्वाधार हो। पछिल्लो समय मैदानलाई आधुनिक बनाउने क्रममा फ्लड लाइट जडान गरिएको थियो, जहाँ हालै नेपाल प्रिमियर लिग (एनपिएल) का खेलहरू समेत सम्पन्न भएका थिए।
सरकारको पछिल्लो स्पष्टिकरणसँगै मैदानको भविष्यबारे देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ।

