युएईद्वारा ओमान २५ रनले पराजित, आर्यांशको शतक र अजयको ६ विकेट चम्किए
काठमाडौं,बैशाख १५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदान मा भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले ओमानलाई २५ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २६८ रनको योगफल खडा गर्दै ओमानलाई २६९ रनको चुनौती दिएको थियो। युएईका लागि आर्यांश शर्माले उत्कृष्ट प्रदर्शन गर्दै १०५ रनको शतक प्रहार गरे। त्यस्तै अदीब उस्मानीले ६४ रन र हरप्रीत सिंहले ५४ रनको योगदान दिएका थिए।
जवाफमा ओमानले राम्रो सुरुआत गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा ४७ दशमलव ५ ओभरमा २४३ रनमै समेटियो। ओमानका लागि विनायक शुक्लाले अविजित ५८ रन बनाए भने कप्तान जतिन्दर सिंहले ४६ रन जोडे।
बलिङतर्फ युएईका अजय कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ९ दशमलव ५ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए। उनकाे घातक बलिङ नै युएईको जितको मुख्य आधार बन्यो। साथै हैदर अलीले एक विकेट लिए। यस जितसँगै युएईले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ।

