नुवाकोटका कांग्रेस नेता लामिछाने रास्वपा बागमती प्रदेश विभागको उपप्रमुखमा मनोनित
नुवाकोट, वैशाख १५ — नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का क्षेत्रीय सहसचिव तथा नेता ठाकुरनाथ लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश पर्यटन तथा संस्कृति विभागको उपप्रमुखमा मनोनित भएका छन्।
रास्वपाले आइतबार आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेश सभापति अच्युतम लामिछानेले उनलाई विभागको उपप्रमुखमा मनोनित गरेको पार्टीको प्रदेश कार्यसमितिले जनाएको छ।
लामिछाने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय सहसचिवमा निर्वाचित भएका थिए। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा उनी कांग्रेस उम्मेदवारको पक्षमा सक्रिय रूपमा प्रचारप्रसारमा संलग्न रहेको बताइन्छ।
तर, कांग्रेसभित्रै केही समयदेखि असन्तुष्टि बढ्दै गएको स्रोतहरूले जनाएका छन्। महत निकट स्रोतका अनुसार लामिछानेले निर्वाचनकै समयमा आफ्ना परिवारका केही सदस्यलाई रास्वपातर्फ सहयोग गर्न लगाएको दाबी गरिएको छ।
यसैबीच, असन्तुष्टिका कारण उनले केही दिनअघि क्षेत्रीय अध्यक्ष ध्रुव श्रेष्ठलाई राजीनामा बुझाएको बताइएको छ। उक्त राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा कांग्रेसभित्र छलफल भए पनि ठोस निर्णय नआएपछि उनले पार्टी परित्याग गरेको जनाइएको छ।
लामिछाने २०४६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए। तर, पार्टीभित्र केही व्यक्तिहरूबाट आफू अपमानित भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, “मलाई केही साथीहरूले मन अमिलो हुने गरी अपमान गर्नुभयो, त्यसपछि कांग्रेसमा बस्ने उचित ठानिनँ।”
उनले कांग्रेस छाडेपछि पार्टी कमजोर हुने टिप्पणीसमेत गरेका छन्। साथै, रास्वपामा कुनै पद वा आश्वासनका कारण प्रवेश नगरेको बताउँदै उनले साधारण सदस्य भएर संगठनको कामका आधारमा मूल्यांकन हुने विश्वास व्यक्त गरेका छन्। लामिछानेको यो निर्णयले नुवाकोटको कांग्रेस संगठनमा प्रभाव पर्ने कतिपय स्थानीय कांग्रेस कार्यकर्ताहरूले बताएका छन्।

