नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु



काठमाडौं, वैशाख १५ — नयाँ शैक्षिक सत्रअन्तर्गत विद्यार्थी भर्ना कार्यक्रम आजदेखि देशभर औपचारिक रूपमा सुरु भएको छ।

सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन हुने परिपत्र जारी भएपछि विद्यालयहरूमा भर्ना अभियान सुरु भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न निर्देशन दिएको थियो। विगतमा वैशाख २ गतेदेखि शैक्षिक सत्र सुरु हुने परम्परा रहँदै आए पनि वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयहरूले भर्ना लिने क्रम बढेपछि सरकारले नयाँ कार्यतालिका लागू गरेको हो। साथै इन्धन आपूर्तिमा देखिएको असहजतालाई समेत ध्यानमा राख्दै नयाँ मिति तय गरिएको बताइएको छ।

तर, केही स्थानीय तहहरूले संघीय सरकारको परिपत्रको अवज्ञा गर्दै यसअघि नै भर्ना अभियान सञ्चालन गरिसकेका छन्। उनीहरूले संविधानले स्थानीय तहलाई दिएको शिक्षा सम्बन्धी अधिकारलाई संघीय सरकारले संकुचित गरेको आरोप लगाउँदै भर्ना प्रक्रिया अघि बढाएका हुन्।

यसैबीच, विद्यालयहरूमा नयाँ शैक्षिक सत्रको तयारीसँगै भर्ना प्रक्रिया तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्