आइतबार पनि विद्यालय खुल्ने : नुवाकोट तादी गाउँपालिकाको निर्णय
नुवाकोट, वैशाख १५ — नुवाकोटको तादी गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।
सूचनामा नेपाल सरकारको मिति २०८२ चैत २२ गतेको पत्रअनुसार शनिबार र आइतबार विद्यालय बन्द गर्ने व्यवस्था भए पनि स्थानीय भूगोल र आवश्यकतालाई ध्यानमा राख्दै गाउँ शिक्षा समितिको निर्णयअनुसार आइतबार पनि पठनपाठन सञ्चालन गर्ने उल्लेख गरिएको छ। शैक्षिक क्यालेण्डर–२०८३ अनुसार नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित सबैलाई निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ। यसअघि नै जिल्लाका शिवपुरी गाउँपालिका र तार्केश्वर गाउँपालिकाले पनि आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेका छन्।
यता जिल्ला शिक्षा समन्वय इकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनीका अनुसार स्थानीय निकायको आफ्नै क्षेत्राधिकारभित्र पर्ने विषय भएकाले यसबारे प्रश्न उठाउनु उपयुक्त नहुने बताएका छन्। उनले केन्द्रिय सरकारको सर्कुलर विपरीत विद्यालय खुले पनि हालसम्म नियमित कक्षागत पढाइ नभई शैक्षिक गतिविधिमूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
प्रमुख इटनीले अब केन्द्र सरकारको निर्देशनअनुसारको समय नजिक आइसकेकाले यस विषयलाई अनावश्यक रूपमा विवादको विषय बनाइराख्न आवश्यक नरहेको समेत बताएका छन्।
उता छिमेकी धादिङ जिल्लामा भने शिक्षा समन्वय इकाइले सोमबार सूचना जारी गर्दै केन्द्र सरकारको निर्णय अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिएको छ। यता नुवाकोटमा भने आइतबार विद्यालय सञ्चालन सम्बन्धी विषयमा कतिपय स्थानीय तह अलमलमा छन्।


