बिदा कटौती गरेर पाठ्यक्रम सक्ने सरकारी योजना, परियोजनामा आधारित सिकाइ अनिवार्य हुने
काठमाडौं,बैशाख १५— सातामा दुई दिन बिदा र शैक्षिक सत्रसमेत ढिलो सुरु भएपछि सरकारले विद्यालयको पाठ्यक्रम समयमै सक्न वर्षे तथा हिउँदे बिदा कटौती गर्ने योजना अघि सारेको छ। शिक्षा मन्त्रालयले बिदा घटाएर तथा परियोजनामा आधारित शिक्षण सिकाइ लागू गरी पाठ्यभार पूरा गर्ने तयारी गरेको हो।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको उक्त प्रस्ताव अब शिक्षामन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकबाट पारित गरिनेछ। शिक्षा नियमावलीअनुसार वर्षमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने भए पनि हाल १८४ दिन मात्र पढाइ हुँदै आएको थियो। अब आइतबारसमेत बिदा दिने निर्णयसँगै विद्यालय सञ्चालन दिन ३८ दिन घटेर १५४ दिनमा सीमित हुने देखिएको छ।त्यसमाथि यस वर्ष शैक्षिक सत्र १५ दिन ढिलो सुरु भएकाले पाठ्यक्रम समयमै नसकिने चिन्ता बढेको छ।
सरकारले भने यो समस्या समाधान गर्न वर्षे र हिउँदे बिदाबाट १५ दिन कटौती गरी पढाइ सञ्चालन गर्ने र बाँकी पाठ्यभार परियोजनामा आधारित सिकाइमार्फत पूरा गर्ने योजना बनाएको छ। वैशाख १५ गतेदेखि विद्यालय भर्ना अभियान सुरु गरी शैक्षिक सत्र औपचारिक रूपमा प्रारम्भ भए पनि नियमित पठनपाठन वैशाख २१ गतेदेखि मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ। यद्यपि धेरै स्थानीय तहहरूले भने एक साताअघि नै भर्ना र कक्षा सञ्चालन सुरु गरिसकेका छन्।
शिक्षकहरूले तीन साता ढिलो सुरु भएको पढाइ र सातामा दुई दिन बिदाका कारण पाठ्यक्रम पूरा गर्न चुनौती हुने बताएका छन्। यसअघि पाठ्यक्रमले मुख्यतः कक्षागत शिक्षणमा जोड दिँदै आएकोमा अब दैनिक जीवन, सामाजिक परिवेश तथा व्यवहारिक ज्ञानसँग जोडिने परियोजना कार्य अनिवार्य बनाउने तयारी गरिएको छ। पाठ्यक्रम विकास केन्द्रका अनुसार यसले विद्यार्थीको सिकाइ उपलब्धि र गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गत वर्ष शिक्षक आन्दोलन, विभिन्न आन्दोलन र निर्वाचनका कारण पनि समयमै पाठ्यक्रम पूरा गर्न विद्यालयहरूलाई कठिनाइ भएको थियो। यस वर्ष भने विद्यार्थीको सिकाइमा असर नपर्ने गरी स्पष्ट कार्ययोजना आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।

