बागमती गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
मकवानपुर,बैशाख १५ । मकवानपुरको बागमती गाउँपालिका मा सञ्चालन हुने आठौँ संस्करणको ‘बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ। बागमती–४ स्थित सहिद स्मृति रङ्गशाला मा वैशाख १७ गतेदेखि सुरु हुने प्रतियोगिताको तालिका मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। आयोजक समितिका अध्यक्ष रहर सिं थिङका अनुसार वैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृति क्लबबीच खेल हुनेछ भने १९ गते विभागीय टोली एपीएफ क्लब र चित्लाङ एफसी, काठमाडौं आमनेसामने हुनेछन्।
त्यसैगरी २० गते बाई पाएको ललितपुरको चर्च ब्वाइज युनाइटेडले आयोजक र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ। वैशाख २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने २२ गते बाई पाएको मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङ एफसीबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको सेमिफाइनल खेल वैशाख २३ र २४ गते हुनेछन् भने फाइनल खेल वैशाख २६ गते आयोजना गरिनेछ। प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरूले २५–२५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले १०–१० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, वडा नम्बर ३ का वडाध्यक्ष कमान सिं पाख्रिन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल तथा बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा लगायतको उपस्थिति रहेको थियो।

