त्रिशूली अस्पतालको भौतिक संरचना विस्तारका लागि थप १० करोड बजेट सुनिश्चित
नुवाकोट,बैशाख १६ — त्रिशूली अस्पतालमा भौतिक संरचना विस्तारका लागि थप १० करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ।अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार ‘मातृ शिशु वार्ड सहित त्रिशूली अस्पताल भवन निर्माण’का लागि बागमती प्रदेश सरकारले उक्त बजेटको स्रोत सुनिश्चित गरेको जानकारीसहितको पत्र प्राप्त भएको हो। यसअघि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ३ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो।
उक्त बजेटले लक्ष्यअनुसारको भौतिक संरचना निर्माण गर्न अपुग भएपछि गरिएको पहलपश्चात थप ७ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको हो। हाल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको त्रिशूली अस्पताल सेवा गुणस्तरका हिसाबले उत्कृष्टमध्येमा पर्ने भए पनि पर्याप्त भौतिक संरचनाको अभाव झेल्दै आएको छ। यही अवस्थालाई मध्यनजर गर्दै जनप्रतिनिधि तथा सरोकारवालाको पहलमा प्रदेश सरकारले बजेट थप गर्न सहमति जनाएको हो।
यसका लागि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ तथा अस्पताल प्रशासनले पहल गरेका थिए। साथै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र स्वास्थ्य मन्त्री किरण थापा मगरले थप बजेट सुनिश्चित गर्न सकारात्मक भूमिका खेलेका छन्। उक्त रकम बहुवर्षीय योजनाअन्तर्गत आगामी वर्षका लागि सुनिश्चित गरिएको जनाइएको छ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीका अनुसार मातृ शिशु वार्डसहितको भवन निर्माणका लागि ३५ करोड रुपैयाँ लागत अनुमानसहितको डीपीआर तयार गरी पेश गरिएको छ। यद्यपि हाल सुनिश्चित भएको १० करोड रुपैयाँले सुरक्षित सुत्केरी सेवाका लागि आवश्यक मातृ शिशु वार्ड तथा केही थप संरचना निर्माण गरिनेछ।
नयाँ भवन निर्माणका लागि विद्युत प्राधिकरणमार्फत आवश्यक जग्गा उपलब्ध नभएकाले अस्पताल परिसरभित्र रहेको प्रि-फ्याब भवन हटाएर सोही स्थानमा नयाँ संरचना निर्माण गर्ने तयारी गरिएको छ। थप संरचना निर्माणपछि अस्पतालको सेवा प्रवाहमा गुणस्तरीय सुधार आउने र बिरामीले सहज तथा प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ।

