लान्छना घटाउन नुवाकोटमा एचआइभी/एड्स अभिमुखीकरण



नुवाकोट, वैशाख १६ । एचआइभी तथा एड्ससम्बन्धी लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटको विदुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा त्रिशूली अस्पताल र त्रिशूली प्लसको समन्वय रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, उपप्रमुख दलबहादुर तामाङ, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी तथा जनस्वास्थ्य कार्यालयकी प्रमुख डा. अञ्जु कार्की लगायतले एचआइभी/एड्सबारे समाजमा रहेका गलत धारणा, लान्छना र विभेद अन्त्य गर्न आवश्यक रहेको बताएका थिए। संक्रमित व्यक्तिको सम्मान र अधिकार संरक्षणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

उपप्रमुख बोगटीले संक्रमित व्यक्तिहरू खुलेर स्वास्थ्य संस्थामा नआउँदा अवस्था जटिल बन्न सक्ने भन्दै समयमै परीक्षण र उपचार लिन आग्रह गरिन्। कार्यक्रममा सहभागी एक संक्रमित व्यक्तिले आफूभन्दा बढी आफ्नी पत्नीप्रति समाजले गर्ने व्यवहारमा विभेद र लान्छना देखिएको अनुभव सुनाए।

कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकार, एचआइभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूहको सहभागिता रहेको थियो। जनस्वास्थ्य कार्यालयका फोकल व्यक्ति कृष्णप्रसाद रिजाल र नर्सिङ अधिकृत वर्षा शर्माले संक्रमणको वर्तमान अवस्था, जोखिम समूह, रोकथामका उपाय तथा उपचारबारे जानकारी प्रस्तुत गरेका थिए।

कार्यालयका अनुसार जिल्लामा हाल २९८ जना एचआइभी संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा बढी दुप्चेश्वर गाउँपालिकामा ६८, विदुर नगरपालिकामा ३८ र तादी गाउँपालिकामा २६ जना रहेका छन्।संक्रमितमध्ये २८ जना आप्रवासी, २० जना सिरिन्जमार्फत, १० जना यौनकर्मी र अन्य १२९ जना रहेका छन्।

कार्यक्रमका सहभागीहरूले एचआइभी तथा एड्ससम्बन्धी लान्छना र भेदभाव हटाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्