बुद्धिचाल प्रतियोगिता: अपराजित कृतिसराको दबदबा, पुरुषतर्फ तीन खेलाडी शीर्षमा
काठमाडौँ, वैशाख १७ । रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु भएको छ।
काठमाडौँ क्षेत्रपाटी क्लबको आयोजनामा संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा सञ्चालन भइरहेको नेपाल बुद्धिचाल महासङ्घको नियमित राष्ट्रिय प्रतियोगिताअन्तर्गत पहिलो दिन पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच चरणका खेल सम्पन्न भएका छन्।
महिलातर्फ सात चरणमध्ये सम्पन्न पाँच चरणसम्म झापाकी कृतिसरा अधिकारी अपराजित रहँदै पाँच अङ्कसहित शीर्षस्थानमा रहनुभएको छ। उहाँले दोलखाकी निहाना श्रेष्ठ, खोटाङकी कुशुम धिसिङ, काठमाडौँकी बिनिता कपाली, मोरङकी शान्ति धिमाल र काठमाडौँकी राधिका पौडेललाई पराजित गर्नुभयो।
काठमाडौँकी बिनिता कपाली चार अङ्कसहित प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थानमा रहनुभएको छ भने समान चार अङ्क भएकी दोलखाकी निहाना श्रेष्ठ तेस्रो स्थानमा हुनुहुन्छ। पुरुषतर्फ हेटौँडाका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूँयाल र काठमाडौँका सिएम पुरुषोत्तम सिलवाल समान पाँच अङ्कसहित संयुक्त अग्रस्थानमा छन्। शीर्ष खेलाडी एफएम रुपेश जैसवाल दोस्रो खेलमा पराजित भएपछि दोस्रो स्थानमा रहनुभएको छ भने प्रतीक सुवेदी तेस्रो स्थानमा छन्।
नवौँ चरणसम्म सञ्चालन हुने प्रतियोगिता शुक्रबारसम्म जारी रहनेछ। यसअघि काठमाडौँ महानगरपालिका–१७ का वडा अध्यक्ष तथा प्रवक्ता नवीन मानन्धरले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, आयोजक क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष मालीले बुद्धिचाल खेलको विकास तथा युवा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
कुल तीन लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा र्यापिडतर्फ दुई लाख र ब्लिट्जतर्फ एक लाख रुपैयाँ छुट्याइएको छ। र्यापिडतर्फ विजेता, उपविजेता र तेस्रोलाई क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिनेछ। ब्लिट्जतर्फ विजेता, उपविजेता र तेस्रोलाई क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ तथा महिलातर्फ विजेता, उपविजेता र तेस्रोलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको निर्णायकमा एफए सोराज ताम्राकार रहनुभएको छ।

