इन्धन महँगो, यात्रु घटेपछि हवाई क्षेत्र संकटमा — वायुसेवा कम्पनीको सरकारसँग राहत माग
काठमाडौं,बैशाख २१ । हवाई इन्धनको मूल्यवृद्धि र यात्रु संख्या घट्दा हवाई सेवा क्षेत्र आर्थिक सङ्कटमा परेको भन्दै वायुसेवा सञ्चालक सङ्घ नेपालले सरकारसँग राहत माग गरेको छ । पश्चिम एसियाको तनाव, कोरोना प्रभाव र अन्य कारणले उद्योगमा दबाब बढेको जनाएको छ ।
सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत शुल्कमा कम्तीमा ५० प्रतिशत छुट र सेवा शुल्क नियमावली संशोधन गर्न आग्रह गरेको छ । साथै आन्तरिक उडानमा लाग्ने अतिरिक्त मौसमी शुल्कले सञ्चालन थप कठिन भएको बताइएको छ ।
हाल इन्धन खर्च कुल सञ्चालन खर्चको ५५–६० प्रतिशत पुगेको भन्दै वायुसेवा कम्पनीहरूलाई तत्काल सहुलियत आवश्यक रहेको सङ्घले जनाएको छ ।

