जेनजी आन्दोलनका सवारीको नाममा इन्धन दुरुपयोग नभएको मन्त्रालयको दाबी



काठमाडौँ, वैशाख २१ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप असत्य रहेको स्पष्ट पारेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मन्त्रालयले गरेको छानबिनबाट कर्मचारीहरूले नष्ट भइसकेका सवारीसाधनको नाममा इन्धन दुरुपयोग नगरेको पुष्टि भएको हो।

सञ्चारमाध्यममा उक्त विषय सार्वजनिक भएपछि मन्त्रालयले गत वैशाख १५ गते छानबिन समिति गठन गरेको थियो। समितिले घटनासम्बन्धी विभिन्न पक्षको अध्ययन गरेको जनाएको छ।

छानबिनका क्रममा प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरण लगायत कागजातको विस्तृत विश्लेषण गरिएको थियो। सोही आधारमा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए।

मन्त्रालयले यस विषयमा आएका भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै तथ्यमा आधारित सूचना मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्