किन बढ्दैछन् प्रोस्टेटको बिरामी? केके हुन् लक्षण ?
काठमाडौँ, वैशाख २५ । पुरुषमा देखिने साझा स्वास्थ्य समस्यामध्ये प्रोस्टेट रोग प्रमुख बन्दै गएको चिकित्सकहरूले बताएका छन् । वीर अस्पतालमा दैनिक आउने करिब ४०० युरो वार्डका बिरामीमध्ये ८० देखि १०० जना प्रोस्टेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।
वरिष्ठ युरोलोजिस्ट डा. रवीनबहादुर बस्नेतका अनुसार उमेरसँगै प्रोस्टेट बढ्ने समस्या सामान्य भए पनि अत्यधिक बढेपछि पिसाब प्रणालीमा असर देखिने गर्छ । बारम्बार पिसाब लाग्ने, राति पटक पटक उठ्नुपर्ने, पिसाब रोक्न नसक्ने तथा धारा कमजोर हुने लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन चिकित्सकको सुझाव छ ।
चिकित्सकहरूका अनुसार समयमै उपचार नगरे प्रोस्टेटले सङ्क्रमण, पत्थरी, मिर्गौलामा असरजस्ता जटिलता निम्त्याउन सक्छ । प्रारम्भिक अवस्थामा औषधोपचारबाट नियन्त्रण गर्न सकिने भए पनि जटिल अवस्थामा शल्यक्रिया आवश्यक पर्न सक्छ ।
स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र पिसाबसम्बन्धी असामान्य लक्षणलाई बेवास्ता नगर्न आग्रह गरेका छन् ।स्वास्थ्य मन्त्रालयले प्रादेशिक अस्पतालसम्म युरोलोजी सेवा विस्तार गरिएको जनाएको छ ।

