नुवाकोटको शिवपुरीमा पहिलो पटक पशुचौपायामा भिडियो एक्स–रे प्रविधि प्रयोग



बाझोपन समस्या पहिचान र समाधानमा आधुनिक प्रविधिको उपयोग

• भरतसन्तोषी लामा

नुवाकोट, वैशाख २८ — नुवाकोटको शिवपुरी गाउँपालिका मा पहिलो पटक पशुमा भिडियो एक्स–रे प्रविधिको प्रयोग गरिएको छ ।आइतबार गाउँपालिकाको आर्थिक सहयोग, कार्डसन नेपाल को समन्वय तथा हेफर इन्टरनेसनल (Heifer Project International) को प्राविधिक सहयोगमा सञ्चालित “शिवपुरी कृषि रूपान्तरण परियोजना” अन्तर्गत उक्त प्रविधि प्रयोग गरिएको हो ।

कृषि, पशुपालन र पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यसहित गाउँपालिकाले यो परियोजनालाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको जनाएको छ । परियोजनामार्फत गाउँपालिकाभित्रका किसान, पशुपालक, तरकारी तथा अकबरे खेती गर्ने महिला समूहलाई लक्षित गरी कृषि सामग्री, बिउबिजन, बोका तथा बाख्रा वितरण, गोठ–खोर निर्माणमा सहयोगलगायत कार्यक्रम सञ्चालन गरिएको थियो ।

परियोजनाले पशुमा फैलिने महामारीजन्य रोग नियन्त्रणमा पनि उल्लेखनीय भूमिका खेलेको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनुभयो । विशेषगरी खोरेतजस्ता रोग फैलिन नदिन गाउँपालिका र प्राविधिक टोलीले समयमै उपचार तथा रोकथामका उपाय अपनाएको बताइएको छ ।

यसैबीच, दुग्ध उत्पादनका लागि पालिएका गाईभैँसीमा देखिने बाझोपन समस्या पहिचान र समाधानका लागि आधुनिक भिडियो एक्स–रे प्रविधि प्रयोग गरिएको हो । सदरमुकाम बाहिरका गाउँपालिकामध्ये पूर्वी भेगमा पहिलो पटक यस्तो प्रविधि प्रयोग गरिएको दाबी गरिएको छ ।

भिडियो एक्स–रे प्रविधिको माध्यमबाट पशुको गर्भाशयभित्रको अवस्था, भ्रूणको विकास, बाझोपनको कारण तथा त्यसको समाधान सहज रूपमा पत्ता लगाउन सकिने पशु चिकित्सकहरूले बताएका छन् । किसानका गोठमै पुगेर पशु परीक्षण गरिएको कार्यक्रममा लामो समयदेखि बहर नलागेका गाईभैँसीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सेवामा बागमती प्रदेशका वरिष्ठ पशु चिकित्सक डा. बब्लु ठाकुर, डा. राजेन्द्र ढकाल र डा. आयुष अधिकारी लगायतको टोली सहभागी थियो । चिकित्सकहरूको टोलीले किसानका गोठ–गोठमा पुगेर प्रत्यक्ष सेवा प्रदान गरेको थियो ।

प्राविधिक टोलीका अनुसार यस्तो अत्याधुनिक उपकरणको प्रयोगलाई स्थानीय तहले नियमित रूपमा विस्तार गर्न सके पशुमा देखिने बाझोपनको समस्या उल्लेखनीय रूपमा घटाउन सकिनेछ ।गाउँपालिकाले नमूनाका रूपमा सुरु गरिएको यो कार्यक्रम सफल भए अन्य वडामा समेत विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्