पूर्ण खोपयुक्त वडा घोषणा : विदुर नगरपालिकाका सबै वडा सुनिश्चित
नुवाकोट,बैशाख २९ । विदुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकास्तरीय “पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना” घोषणा कार्यक्रम सम्पन्न गरेको छ । नगर खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख राजन श्रेष्ठले नगरपालिकाभित्रका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएको घोषणा गर्नुभएको हो ।
मंगलबार सम्पन्न कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नगरबासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खोप कार्यक्रमसँगै विद्यार्थी दुर्घटना बीमा, आर्थिक रूपमा कमजोर नागरिकका लागि उपचार सहायता तथा नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, वडा नं. ७ का अध्यक्ष रबिन्द्र नेपाल लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । साथै स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जन, विदुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारी तथा स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुख एवं स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको थियो ।
नगरपालिकाका अनुसार नगरभित्रका ४२८ जना बालबालिकाले निर्धारित मापदण्डअनुसार पूर्ण खोप प्राप्त गरेका छन् । यस उपलब्धिले बाल स्वास्थ्य सुरक्षा, खोप पहुँच विस्तार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

