लिखु गाउँपालिकामा पुरुष लक्षित निःशुल्क प्रोस्टेट स्वास्थ्य शिविर सम्पन्न
नुवाकोट, बैशाख ३१ । जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा तथा मेरी स्टोप्स सर्भिसेज, नुवाकोटको प्राविधिक सहयोगमा पुरुषहरूको प्रोस्टेट (पिसाब नली सम्बन्धी) समस्या छ वा छैन भन्ने विषयमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
चौघडा स्वास्थ्य चौकीमा सम्पन्न उक्त शिविरमा बरिष्ठ यूरोलोजिष्ट तथा चिकित्सकहरूको उपस्थितिमा भिडियो एक्स-रे सहित विभिन्न स्वास्थ्य परीक्षणहरू गरिएको थियो। शिविरमार्फत १३३ जना सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा सहभागी सेवाग्राहीहरूले निःशुल्क रूपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै लिखु गाउँपालिका र सहयोगी संस्था मेरी स्टोप्स सर्भिसेजलाई धन्यवाद ज्ञापन गरेका छन्।
आयोजकहरूले शिविर सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

