नेपालमै पहिलो प्रयोग: हरित हाइड्रोजनबाट चुलो बालियो
बागलुङ,जेठ २ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गरी सफल प्रयोग गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोगबाट उत्पादन गरिएको हाइड्रोजन ग्यास सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो ।
तीन वर्षअघि नमूना परियोजनाका रूपमा सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यासलाई व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट सहज रूपमा खाना पकाउन सकिने परीक्षणले देखाएको छ ।
बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको ७५ किलोवाट क्षमताको उक्त आयोजनाको विद्युत् पर्याप्त खपत नभई खेर गइरहेका बेला त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो ।
नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । आवश्यकताअनुसार उक्त ग्यास चुलोमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
परियोजनामा त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्य रहेको छ ।तीन वर्षदेखि सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहयोगमा गरिएको अध्ययनपछि हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सुरक्षित रूपमा सिलिण्डर भर्ने काम सुरु गरिएको परियोजनाले जनाएको छ ।
उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट चुलो बालेर शुक्रबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचन ले परियोजनाको उद्घाटन गर्नुभयो । उहाँले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादन गरिएको ग्यास सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उहाँका अनुसार एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्छ ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बेलबहादुर थापाले खेर गइरहेको विद्युत्लाई उपयोग गरी खाना पकाउने इन्धन उत्पादन गरिएको बताउँदै अब नागरिकको पहुँचभित्र पर्ने सुरक्षित सिलिण्डर विकास र विस्तारका विषयमा थप अध्ययन गरिने जानकारी दिनुभयो ।स्थानीय विष्णु अर्यालले हाइड्रोजन इन्धनबाट पकाएको खाना स्वादिलो हुनुका साथै छिटो पाक्ने अनुभव सुनाउनुभयो ।

