गृहमन्त्री गुरुङद्वारा नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौं,कात्तिक १८ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्दै आएको परम्परा थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गर्नुभएको छ। विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मनुभएका केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्