स्विट्जरल्याण्डको उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा बाढी प्रभावित विदुरको स्थलगत अवलोकन



नुवाकोट,कात्तिक १८ । स्विट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पागेको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नुवाकोटको विदुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

बुधबार विदुर नगरपालिका पुगेको प्रतिनिधिमण्डलले नगर प्रमुख राजन श्रेष्ठसँग भेटघाट तथा छलफल गरेको हो । भेटका क्रममा नगर प्रमुख श्रेष्ठले हालै आएको विनाशकारी बाढीका कारण नगरपालिकाभित्र प्रभावित क्षेत्र, स्थानीय बासिन्दाले भोग्नुपरेका समस्या तथा भएको भौतिक क्षतिबारे प्रतिनिधिमण्डललाई जानकारी गराउनुभयो ।

बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक राहत र सहयोगका विषयमा छलफल गर्दै नगर प्रमुख श्रेष्ठले स्विट्जरल्याण्ड सरकार तथा सम्बन्धित निकायबाट सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो ।

छलफलका क्रममा राष्ट्रिय परिषद्का अध्यक्ष पागेले बाढी प्रभावित क्षेत्रको अवस्थाप्रति चासो व्यक्त गर्दै सम्भव भएसम्म आवश्यक सहयोगका लागि पहल तथा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थलगत अवलोकन तथा भेटघाट कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, स्विट्जरल्याण्डको उच्चस्तरीय प्रतिनिधिमण्डल तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्