तीन दशकको यात्रापछि सम्झनामा रहने प्रहरी : रामबहादुर घिसिङ



• भरतसन्तोषी लामा

नुवाकोट, जेठ २ । प्रहरीको पोसाक लगाएर तीन दशक बिताउनु सामान्य कुरा होइन । अझ त्यो यात्रामा केवल ड्युटी पूरा गर्ने होइन, संगठन र समाजमा छुट्टै छाप छोड्ने काम गर्न सक्नु झन् कठिन विषय हो । नुवाकोट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक रामबहादुर घिसिङले भने यही कठिन यात्रालाई आफ्नो कर्म र समर्पणले सजाएका छन् ।

३० वर्षे सेवा अवधि पूरा गरी शुक्रबार अनिवार्य अवकाशमा जानुअघि जिल्ला प्रहरी कार्यालय नुवाकोटले उहाँको सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रम केवल औपचारिक बिदाइमा सीमित रहेन, बरु तीन दशकसम्म संगठनमा पुर्‍याएको योगदानको स्मरण गर्ने अवसर बन्यो ।

प्रहरी संगठनमा धेरै असई र सई आउँछन्, सेवा गर्छन् र अवकाश लिन्छन् । तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसलाई संगठनले लामो समयसम्म सम्झिरहन्छ । रामबहादुर घिसिङ त्यस्तै पात्र बनेका छन् ।उमेर र स्वास्थ्यले साथ दिन छाड्दै गएको अवस्थामा पनि उहाँले जिम्मेवारीबाट पछि हट्नुभएन । विशेषगरी गुर्जे प्रहरी चौकीको आफ्नै जग्गा प्राप्ति र भवन निर्माण प्रक्रियामा उहाँले खेलेको भूमिका अहिले पनि प्रहरी वृत्तमा उदाहरणका रूपमा चर्चा हुने गरेको छ । निरन्तर प्रयास, समन्वय र लगनशीलताले उहाँले प्रहरी संगठनको दीर्घकालीन हितमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको सहकर्मीहरू बताउँछन् ।

बिदाइ कार्यक्रममा बोल्ने वक्ताहरूले घिसिङको सेवायात्रा केवल जागिर नभई संगठनप्रतिको समर्पणको कथा भएको उल्लेख गरे । उहाँले प्रहरी संगठनमा अनुशासन, जिम्मेवारी र इमान्दारिताको उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो ।

जिल्ला प्रहरी प्रमुख बिबिन रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक गणेश तामाङ, जिल्ला ट्राफिक प्रहरी प्रमुख बिनोद ढकाल, खरानीटार प्रहरी प्रमुख इन्स्पेक्टर लोकराज पाठकलगायत जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयका प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो अवसरमा वैशाख महिनामा जन्मदिन परेका प्रहरी कर्मचारीहरूको सामूहिक जन्मोत्सवसमेत मनाइएको थियो । शुभकामना आदानप्रदान र सम्मानका भावनाले भरिएको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन दशकसम्म प्रहरी सेवामा सक्रिय रहँदा घिसिङले केवल जिम्मेवारी निर्वाह मात्र गरेनन्, संगठनभित्र मेहनत, लगाव र समर्पणले कसरी स्थायी छाप छोड्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेर गए । आजदेखि उहाँ औपचारिक रूपमा सेवाबाट अलगिए पनि नुवाकोट प्रहरीमा उहाँका योगदान र सम्झनाहरू भने लामो समयसम्म जीवित रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्