“१० महिनामै ३० करोड राजस्व उठायो हेटौँडाले, लक्ष्य भेट्न घरदैलो अभियान सुरु”
हेटौँडा, जेठ २ गते । हेटौँडा उपमहानगरपालिका ले चालु आर्थिक वर्षको १० महिनामा ३० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा उपमहानगरपालिकाले लक्ष्यको ५८ प्रतिशत राजस्व उठाएको जनाएको हो ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५२ करोड ७६ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । साउनदेखि वैशाखसम्मको अवधिमा ३० करोड ७० लाख ५३ हजार ८०३ रुपैयाँ राजस्व सङ्कलन भएको प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल ले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी राजस्व एकीकृत सम्पत्ति करबाट उठेको छ । उक्त शीर्षकमा ६ करोड ९४ लाख ३४ हजार रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी घरबहाल करबाट ४ करोड ७१ लाख ५ हजार, पूर्वाधार सेवा उपयोग करबाट ३ करोड २४ लाख ४९ हजार, अन्य बिक्रीबाट ३ करोड ७१ लाख ३९ हजार तथा बहाल–बिटौरी करबाट २ करोड ५० लाख ६९ हजार रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै सिफारिस दस्तुरबाट २ करोड ३८ लाख ५५ हजार, व्यवसाय करबाट २ करोड १७ लाख १४ हजार तथा नक्सापास दस्तुरबाट १ करोड ७६ लाख ८७ हजार रुपैयाँ राजस्व उठेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार अन्य सेवा शुल्क तथा बिक्रीबाट ९२ लाख ५५ हजार, दहत्तर–बहत्तरबाट ४३ लाख ९४ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ३८ लाख ४८ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट ३५ लाख ७२ हजार, विद्युत सेवा शुल्कबाट १९ लाख ६५ हजार, अन्य दस्तुरबाट १४ लाख ८४ हजार, मनोरञ्जन करबाट १ लाख २० हजार तथा विज्ञापन करबाट २४ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको छ ।
त्यस्तै शिक्षा क्षेत्रको आम्दानी ५ लाख ७७ हजार, भूमिकर तथा मालपोतबाट ४ लाख ५६ हजार, सरकारी सम्पत्ति बहालबाट १ लाख ३६ हजार, न्यायिक दण्ड जरिवानाबाट ८६ हजार, व्यवसायबाट ६८ हजार, अन्य करबाट २७ हजार, व्यक्तिगत घटना दस्तुरबाट ८ हजार, न्यायिक दस्तुरबाट ६ हजार, परीक्षा शुल्कबाट ४ हजार, निजी धाराबाट ३ हजार, नाता प्रमाणित दस्तुरबाट ३ हजार तथा साना सवारीबाट १ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रशासन महाशाखाले जनाएको छ ।
उपमहानगरपालिकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुमा आर्थिक गतिविधिमा आएको मन्दी मुख्य कारण रहेको जनाएको छ । बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व उठाउन नगर प्रहरी परिचालन गरी व्यवसाय दर्ता तथा कर तिर्न आग्रह गरिएको प्रशासन महाशाखा प्रमुख अर्यालले बताउनुभयो ।
उहाँका अनुसार १९ वटै वडामा नगर प्रहरी परिचालन गरी करदातालाई समयमै कर तिर्न आग्रह गरिएको छ । करदातालाई प्रोत्साहन गर्न माइकिङ, फोन तथा मोबाइल सन्देश पठाउने कार्य भइरहेको छ भने असल करदातालाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको छ ।राजस्व सङ्कलन बढाउन सहज तथा सुलभ सेवा प्रवाहमा विशेष जोड दिइएको र नगर प्रमुखसहितको घरदैलो अभियान सञ्चालन गर्ने तयारीसमेत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

