१४१ किलो गाँजासहित दुई पक्राउ, फरार प्रतिवादीसमेत नियन्त्रणमा



सप्तरी, जेठ २ । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साङ्गुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय महाप्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बलबहादुर लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुर खण्डमा बिहीबार सवारी चेकजाँचका क्रममा उनीहरूलाई १४१ किलो गाँजासहित पक्राउ गरिएको हो ।

धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्काको आधारमा रोकी खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ पोकामा कुल १४१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार गाँजासहित पिकअप भ्यान र दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । प्रहरीले सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच, सवारी ज्यान मुद्दामा विगत आठ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–१० का २६ वर्षीय शिवामणि चौधरी रहेका छन् । उनलाई बेल्हा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०८२ असोज १६ गते खडक नगरपालिका–११ मा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चालक चिन्तामणि चौधरी र सोभिनकुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि फरार रहेका चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट छ दिनको म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने तथा गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय सञ्जय चौधरी रहेका छन् ।

राजेन्द्र प्रसाद साहको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको तथा जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्