आइतबार र सोमबार तराईमा हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने
काठमाडौँ, जेठ २ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको असरका कारण गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने बताइएको छ ।
त्यस्तै, मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा भोलि र पर्सी हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भने तापक्रम बढ्ने सम्भावना रहेको जनाइएको छ ।

