चिनीको कृत्रिम अभाव हुन नदिने सरकारको प्रतिबद्धता
काठमाडौँ, जेठ २ । सरकारले चिनी लगायत अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउँदै बजार मूल्य स्थिर राख्न पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न अवस्थाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उपभोक्तालाई अनावश्यक रूपमा चिनी तथा दैनिक उपभोग्य वस्तु सञ्चिति नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदी ले बजारमा चिनीको सहज उपलब्धता कायम राख्न आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सञ्चालनमा रहेका स्वदेशी चिनी उद्योगको मौज्दात तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत रहेको भण्डारणले करिब आठ महिनाको माग धान्न सक्ने अवस्था रहेको छ ।
मन्त्रालयले नियमित बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाइने जनाएको छ । कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अनुचित मौज्दात राख्ने तथा अस्वाभाविक मूल्यवृद्धि गराउने गतिविधिमाथि कडा निगरानी गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
सरकारले चिनीमा आत्मनिर्भर बन्न उत्पादन क्षमता वृद्धि गर्न समेत पहल थालेको जनाएको छ । उन्नत जातको उखु खेती, आधुनिक प्रविधिको प्रयोग र किसानलाई आवश्यक सहजीकरणमार्फत उत्पादन दक्षता बढाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यसका साथै उत्पादन प्रवर्द्धन, बजार अनुगमन र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाइने प्रवक्ता सुवेदीले बताउनुभयो ।

