पर्सामा सबैभन्दा बढी एचआइभी सङ्क्रमित, मधेसमा चार हजारभन्दा बढी उपचाररत



जनकपुरधाम,जेठ ३ । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्रै एक हजार ५०४ जना सङ्क्रमित बिरामी उपचारमा रहेका छन् ।

निर्देशनालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशभर चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी उपचारमा छन् । धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् ।

निर्देशनालयका एचआइभी/एड्स फोकल पर्सन राजवीर यादवका अनुसार प्रदेशमा एचआइभी परीक्षणको दायरा पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा १४ हजार जनामा परीक्षण गरिएकोमा यो सङ्ख्या बढेर २०८१/८२ सम्म आइपुग्दा ७६ हजार ७९२ पुगेको छ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ४००, २०७७/७८ मा ४७५, २०७८/७९ मा ६७५, २०७९/८० मा ६०६, २०८०/८१ मा ५१० तथा २०८१/८२ मा ४७९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

चालु आर्थिक वर्षमा १६ जना गर्भवती महिलामा समेत एचआइभी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीका अनुसार समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा पनि सङ्क्रमण सर्न सक्ने जोखिम रहने भएकाले नियमित परीक्षण र उपचार आवश्यक छ । मधेस प्रदेशमा १८ वर्षमुनिका १७५ बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये ४७ जना एकल अभिभावकविहीन तथा २० जना पूर्ण अनाथ रहेका छन् । सङ्क्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक एक हजार रुपैयाँ नगद सहायता उपलब्ध गराइँदै आएको छ ।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषधको प्रयोग तथा असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको बताउनुभयो ।

प्रदेशमा हाल १० वटा सरकारी र एउटा गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा रहेका छन् । एचआइभी परीक्षण तथा परामर्श सेवा, भाइरल लोड परीक्षण र प्रारम्भिक शिशु परीक्षण सेवा आठै जिल्लामा उपलब्ध रहेको निर्देशनालयले जनाएको छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट नियन्त्रणका प्रयास भइरहे पनि समस्या समाधानमा अपेक्षित सुधार आउन नसकेको सर्लाहीका जनस्वास्थ्य अधिकृत नवलकिशोर झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्