स्थानीय तह पुनर्संरचनाको तयारी



काठमाडौं,जेठ ३ । सरकारले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनअघि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरी निर्वाचन हुनुभन्दा एक वर्षअघिको व्यवस्था हटाएर छ महिनाअघि मात्रै पुनर्संरचना गर्न सकिने प्रावधान ल्याउन लागिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनभित्रै संशोधन विधेयकको मसौदा सार्वजनिक गर्ने जनाएको छ । हाल १०२ स्थानीय तहमा सिमाना विवाद कायम रहेको र सेवाग्राहीलाई समस्या भइरहेको मन्त्रालयको भनाइ छ ।

सरकारले जनसङ्ख्या, भूगोल, प्रशासनिक सुगमता, पूर्वाधार, आर्थिक क्षमता र प्राकृतिक स्रोतका आधारमा स्थानीय तह पुनर्संरचना गर्ने तयारी गरेको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले पनि सिमाना विवाद छिटो समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्