जेन्जी आन्दोलनका माग कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह
काठमाडौँ, जेठ ३ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा उहाँले वर्तमान सरकार जेन्जी आन्दोलनकै जगमा बनेको उल्लेख गर्दै आन्दोलनका भावना र बलिदानलाई नबिर्सिएको बताउनुभयो ।
छलफलका क्रममा घाइते तथा सहिद परिवारका सदस्यहरूले विगतका सरकारसँग भएका सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन आग्रह समेत गरेका थिए ।
जवाफमा संयोजक शाहले सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै नयाँ पुस्ताको चाहनाअनुसार काम भइरहेको बताउनुभयो । उहाँले आन्दोलनका माग पूरा गर्न सरकार स्वयं सक्रिय हुने आश्वासन दिनुभयो ।
उहाँले सरकार र आन्दोलनका पीडित परिवारबीच संवादमा दूरी बढेको स्वीकार गर्दै अब माग पूरा गर्न पीडित पक्षले धेरै दौडधुप गर्नुपर्ने अवस्था नरहने बताउनुभयो । कार्यदलका सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी ले पनि सरकार जेन्जी आन्दोलनका माग सम्बोधन गर्न सकारात्मक रहेको धारणा राख्नुभयो ।
सरकारको प्रतिबद्धतापछि छलफलमा सहभागी घाइते तथा सहिद परिवारका सदस्यहरूले सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले संवादमार्फत आफ्ना माग कार्यान्वयनको बाटो खुलेको बताएका छन् ।छलफलको अन्त्यमा संयोजक शाहले संविधान संशोधनका लागि बहसपत्र तयार भइरहेको जानकारी दिँदै जेन्जी पुस्ताका भावना, अधिकार र आवश्यकतालाई समेट्ने गरी लिखित सुझाव दिन आग्रह गर्नुभयो ।

