बजेट अधिवेशन अन्योलमा, सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित
कैलाली,जेठ ३ । सुदूरपश्चिम प्रदेशसभा को बजेट अधिवेशन सुरु भएको दुई साता बितिसक्दा पनि दोस्रो बैठक बस्ने टुंगो लागेको छैन । प्रदेश सरकारले आवश्यक बिजनेस उपलब्ध नगराउँदा प्रदेशसभा बैठक अनिश्चित बनेको हो ।
प्रदेशप्रमुख नजिर मियाँ ले अधिवेशन आह्वान गरेपछि वैशाख १७ गते पहिलो बैठक बसेको थियो । उक्त बैठकमा सभामुख भीमबहादुर भण्डारी ले प्रदेश प्रमुखको पत्र पढेर सुनाउनुभएको थियो भने विभिन्न दलका सांसदहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बैठकले सामाजिक विकास समिति मा सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन–२०७६ संशोधन सम्बन्धी विधेयक दफावार छलफलका लागि पठाउने निर्णय गरेको थियो । त्यसपछि सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७९ अनुसार बजेट प्रस्तुत हुनुभन्दा २० दिनअघि बजेटका सिद्धान्त, उद्देश्य तथा प्राथमिकता प्रदेशसभामा पेश गर्नुपर्ने व्यवस्था छ । त्यसमा प्रदेशसभाले छलफल गरी सुझावसहित आर्थिक मामिला मन्त्रालयलाई फिर्ता पठाउन सक्ने प्रावधान पनि रहेको छ ।
आर्थिक मामिला मन्त्रालयका उपसचिव अर्जुन खड्का ले संघीय सरकारको बजेटका सिद्धान्त, उद्देश्य तथा प्राथमिकता पर्खिरहेको बताउनुभयो । संघीय सरकारको प्रक्रिया टुंगिएपछि मात्रै प्रदेशको बजेटसम्बन्धी दस्तावेज प्रदेशसभामा पेश गरिने उहाँको भनाइ छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी संसदीय दल का नेता अक्कलबहादुर रावल ले प्रि–बजेट छलफलमा उठेका विषय नीति तथा कार्यक्रममार्फत समेटिनुपर्ने बताउनुभयो । उहाँले बजेटका सिद्धान्त, उद्देश्य तथा प्राथमिकता पेश गर्ने समय भइसके पनि प्रदेश सरकारले कार्यतालिका सार्वजनिक नगरेको आरोप लगाउनुभयो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सिलिङ निर्धारणमै ढिलाइ गरेको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नीति तथा कार्यक्रम तथा बजेटका आधारभूत दस्तावेज समयमै प्रस्तुत हुन नसक्दा बजेट अधिवेशन अन्योलमा परेको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशी ले अर्को बैठक कहिले बस्ने भन्ने विषय अझै निश्चित नभएको बताउनुभयो

