मदन–आश्रितको योगदान स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली



काठमाडौं, जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

आइतबार जारी वक्तव्यमा उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा ‘जनताको बहुदलीय जनवाद (जबज)’का प्रणेता मदन भण्डारी र आश्रितको योगदानको स्मरण गर्दै उहाँहरूले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद’ले लोकतान्त्रिक माध्यममार्फत सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभएको छ।

उहाँले वर्तमान राजनीतिक परिस्थिति र चुनौतीबारे चर्चा गर्दै विगतका उपलब्धिसँगै अवसर र चुनौतीलाई ध्यानमा राखेर अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। अहिलेका चुनौतीको सामना गर्न सुदृढ सांगठनिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको उहाँको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीले जनअपेक्षा र सुधारप्रतिको चाहनालाई सम्बोधन गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ। सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नुपर्ने तथा जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो सामर्थ्य भएको उहाँले उल्लेख गर्नुभएको छ।

वक्तव्यको अन्त्यमा उहाँले जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै मदन–आश्रित स्मृति दिवसले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि थप जिम्मेवार बन्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्