बर्खा सुरु हुनासाथ दोलखाको सिमवारीमा पहिरो त्रास, दुई सयभन्दा बढी घरधुरी जोखिममा



दोलखा, जेठ ३ । बर्खा महिना सुरु हुन लागेसँगै दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–२ झुले सिमवारीका स्थानीयमा पहिरोको त्रास बढेको छ । घर नजिकै फैलिएको ‘रातो पहिरो’का कारण स्थानीय वर्षौंदेखि त्रसित बन्दै आएका छन् ।

वडा नम्बर–२ का वडा अध्यक्ष ईश्वर राज कार्की का अनुसार पहिरो अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको छ । भूगर्भविद्हरुले सिमवारीका सात घरधुरी तत्काल सुरक्षित स्थानमा सार्न सुझाव दिएको एक वर्ष बितिसक्दा पनि उपयुक्त विकल्प नपाउँदा स्थानीय जोखिम मोलेरै बस्न बाध्य भएका छन् ।

तामाकोशी गाउँपालिकाको पहलमा राष्ट्रिय विपद् प्राधिकरणले गरेको अध्ययनका क्रममा भूगर्भविद्हरुले पहिरो प्रभावित बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेका थिए । तर हालसम्म पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन ।

स्थानीय समाजसेवी भवेन्द्र कार्की ले हिउँदमा पहिरो क्षेत्र हुँदै सवारी साधन सञ्चालन हुने गरे पनि बर्खा सुरु भएपछि अवस्था भयावह बन्ने बताउनुभयो । उहाँका अनुसार वर्षात्को समयमा पहिरो क्षेत्रमा पानीको बहाव बढ्ने र खोला उर्लिने भएकाले मानिसलाई हिँडडुल गर्न समेत कठिन हुने गरेको छ ।

रातो पहिरो छिचोल्दै गैरीमुदी, हावा र च्यामा गाउँका बासिन्दा झुले स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था छ । विद्यार्थीहरू पनि अम्मर उच्च माध्यमिक विद्यालय तथा जनप्रभात माध्यमिक विद्यालय पुग्न यही बाटो प्रयोग गर्न बाध्य छन् । बर्खामा यही बाटो प्रयोग गर्नु निकै जोखिमपूर्ण हुने स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार करिब सात–आठ वर्षअघि सुरु भएको पहिरो अहिले विशाल आकारमा फैलिएको छ । वडा अध्यक्ष कार्कीले गाउँपालिका वा वडाको सीमित बजेटले यस्तो ठूलो पहिरो नियन्त्रण गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार स्थानीय तहले वर्षायाममा सामान्य मर्मत तथा अस्थायी नियन्त्रणको काम गर्दै आवतजावत सहज बनाउने प्रयास मात्रै गर्न सकिरहेको छ ।

गत वर्ष जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले समेत स्थलगत अध्ययनपछि आसपासका बस्ती तत्काल सार्न सुझाव दिएको थियो । तर पहिरो नियन्त्रण र सुरक्षित पुनःस्थापनाका लागि कुनै निकायबाट प्रभावकारी सहयोग नपाएको स्थानीयको गुनासो छ ।

वडा अध्यक्ष कार्कीका अनुसार पहिरो विस्तार हुँदै जाँदा सिमवारीका सात घरधुरी मात्र नभई सेता पहरा, मुलपानीलगायतका बस्ती पनि जोखिममा परेका छन् । अहिले वडा नम्बर–२ का दुई सयभन्दा बढी घरधुरी प्रभावित हुने अवस्था देखिएको उहाँले बताउनुभयो ।

प्रोण प्रताप केसी ले पहिरो नियन्त्रण स्थानीय तहको स्रोतसाधनले मात्र सम्भव नभएको बताउँदै राष्ट्रिय योजना आयोग, प्रदेश सरकार तथा संघीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग गरिएको जानकारी दिनुभयो ।

उहाँले बर्खा अघि नै प्रदेश र संघीय सरकारबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्